कैलाली- जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । आज प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहनुभएको छ ।समितिलाई १० भित्र आवश्यक छानबिन विधिको प्रयोग गरी प्रतिवेशन बुझाउन समय सीमा तोकिएको छ ।
कैलाली कारागारमा कैदीबन्दीका दुई समुहबीच झडप हुँदा धनगढी उप महानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन ।
मृत्युको घटनापछि कैलाली कारागार कैदीहरुले कब्जामा लिएको बताईएको छ । गएराती झडप भएपनि त्यसपछि कारागारभित्रको घटनास्थलमा प्रहरी जान सकेका छैनन । कैदीहरु आक्रोसित भएको हुनाले थप घटना नहोस भनेर कारागारभित्र पस्न नसकेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनुभयो ।अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।


