काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद डा. चन्दा कार्कीले हतारमा कुनै पनि विधेयक अघि बढाइन नहुने बताएकी छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने बताइन् । विधेयकहरू राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनको भनाइ छ । हतारमा काम गर्दा संसद्का सबै सांसद बेवकुफ भएको घटना ताजै रहेको उनले बताइन् । उनले भनिन्,‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन ।
हालैको अनुभव पनि छ । हतारको काममा लतार भएर एक जना सभापतिज्यूले राजीनामा दिनुपर्यो । त्यसैले हामीले धेरै सोच्नुपर्छ । त्यत्रो सदनमा हामी सबै सांसद त बेवकुफ नै भयौँ नि त । सबैले थपडी मारेर पास गर्यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ ।’ सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरू अघि बढाउनु उचित हुने सुझाव दिइन् ।


