मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै त्रिभुवन राजपथमा गए राति ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार राति १२ बजे सडक माथिबाट ढुङ्गा सहित रुख खस्दा आवतजावत रोकिएको हो।

उक्त स्थान भैँसे प्रहरी चौकीबाट करिब २२ किलोमिटर पश्चिम–उत्तर पर्छ। घटनापछि तत्कालै २ वटा डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भए पनि ठुलो ढुङ्गा खसेकाले साधारण मेसिनले हटाउन नसकिएको बताइएको छ।
जिल्ला स्थित सडक कार्यालयले आवश्यक उपकरण व्यवस्थापन गर्ने तयारी गरिरहेको र बाटो खुल्न केही समय लाग्ने जनाइएको छ। त्रिभुवन राजपथ अवरुद्ध हुँदा रातिदेखि नै सवारी साधन रोकिएका छन्।


