काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र विदेश सचिव मिस्रीबिच शिष्टाचार भेट भएको हो । सो भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।
एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
उनले नेपाल र भारतबिच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको र दुई मुलुकबिचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।
नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’ को नेपाल सराहना गर्दछ’, राष्ट्रपति पौडेलले भने ।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएका उनको भनाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
साथै विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबिचको प्रगति एवम् विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे ।


