गोरखा । गुरुङहरूको मात्र बसोबास रहेको उत्तरी गोरखाको लाप्राकका बासिन्दाले हरेक वर्षजस्तै यस वर्ष पनि हिउँद लागेकामा भद्रा मारेर खुसीयाली मनाएका छन् । धार्चे चार लाप्राकका बासिन्दाले एक ठाउँमा भेला भई काँक्रोलाई भद्राको स्वरूप बनाइ बलि चढाएर उत्सव मनाएका हुन् । यहाँ एक ठाउँमा ७०० घर रहेका छन् ।

लाप्राक घाँटु समिति तथा तमु प्ले ल्हु सङ्घ लाप्राकका अध्यक्ष बिसबहादुर गुरुङले यहाँ भदौ लागेपछि बर्खा सकिएर हिउँद लाग्यो भनेर खुसीयाली मनाउने पुरानो चलन रहेको बताए । उनले भने, “काँक्रोमा सिङ, पुच्छर, खुट्टा जोडेर राक्षसको स्वरूप बनाउँछौँ । अनि त्यसलाई खुकुरीले मार हानेर बलि चढाउँछौँ । त्यसैलाई भद्राको प्रसाद भनेर गाउँले बाँडेर खान्छौँ ।”
सोही अवसरमा लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको पूजाआजा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । खम्बो र पैसापले आठसय वर्षअघि लाप्राक गाउँ स्थापना गरेको जनश्रुति छ । बर्खा यामभरि जेजस्ता दुःख र सास्ती खेप्नु परे पनि हिउँदयाम सुखद होस् भनेर पर्व मनाउने चलन रहेको जानकारहरू बताउँछन् ।


