काठमाडौं, ४ भदौ । काभ्रेको पाँचखाल नगरपालिका–६ केराघारीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–८ का करिब ३५ वर्षीय रूपेश खरेलको मृत्यु भएको हो ।
बुधबार बिहान पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट कोशीपारि जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । उनलाई अस्पतालले मृत घोषणा गर्यो ।
ट्रक र चालक धनुषाको मिथिला नगरपालिका–१० का माधवकुमार बराललाई नियन्त्रणमा लिएको डीएसपी घलेले बताए ।


