१८ बैशाख २०८३, शुक्रबार 1777638081
जलविधुत

कालिञ्चोक साना जलविद्युत् आयोजना निर्माण सुरु

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ मा कालिञ्चोक साना जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हिमालयन इनर्जी लिमिटेडले उक्त ३ मेगावाटको आयोजना प्रवर्द्धन गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता पिपिए भई लगानी समेत जुटिसकेकोले निर्माण सुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक पुण्यप्रसाद रिमालले जानकारी दिए ।

उनका अनुसार ६० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकले ५० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ लगानी गर्ने छ । बाँकी ५० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ सेयरधनीहरूको स्वपुँजी लगानी रहने छ । आयोजनाका लागि सिटिजन्स बैंक इन्टरनेशनलले ऋण लगानी गर्ने गरी सम्झौता भइसकेको छ ।

‘हामीले स्थानीयबासीसँगै मिलेर जलविद्युत आयोजना निर्माण गर्ने गरी कम्पनी बनाएका छौँ,’ उनले भने ‘स्थानीयले कम्पनीमा राम्रै लगानी गर्नु भएको छ, आयोजना समयमै पूरा गरेर बेलैमा लाभांश लिनका लागि बैंकको ऋण कम गरेका हौँ ।’ वर्षात् सकिनासाथ पूर्वाधार निर्माणको काम सुरु हुने उनले बताए ।

उनका अनुसार आयोजनाको पहुँचमार्ग, आवास भवनलगायतका पूर्वाधार संरचनाको निर्माणको काम हाल भइरहेको छ । आयोजनाका लागि आन्तरिक रूपमा १ हजार ७०० मिटर सडक निर्माण गर्नुपर्ने छ । सडक निर्माणका लागि ट्रयाक खोल्ने काम भइसकेको र जग्गा खरिदको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । शिखरजन खोला र बुदेखानीको पानीलाई छुट्टाछुट्टै इन्टेक बनाइ ल्याएर भूमेस्थानमा मिसाएर मुख्य इन्टेक बनाइ पेनस्टक पाइप मार्फत विद्युत्‌गृहमा पुर्‍याउने छ । आयोजनाको लागि मुख्य हेडरेस पेनस्टक पाइप १ हजार १२० मिटर र सहायक खोलाबाट मुख्य इन्टेकसम्म ल्याउन १ हजार ८८० मिटर पेनस्टक पाइप जडान गर्नुपर्ने छ ।

आयोजनाको ग्रस हेड ३२२ मिटर रहेको छ भने नेट हेड ३१४ मिटर रहेको छ । आयोजनाबाट वार्षिक १६।९४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । अब २ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किमी टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोड्ने लक्ष्य रहेको छ ।