३ भदौ २०८३, बुधबार 1787139982
समाज

काठमाडौँसहित ३८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तल र महाकाली नदिको बहाब सतर्कता तहआसपास देखिएको छ। तर दिउँसो बढ्ने सम्भावना छ।

यसका अलावा आज दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, लमजुङ, गोरखा, दैलेख, कालीकोट, अछाम, बैतडी, डडेलधुरा, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ।

यसैगरी आज सोलुखुम्बु, नुवाकोट, रसुवा, धादिङ, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत, जुम्ला, हुम्ला, डोल्पा, डोटी, बाजुरा, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ। जसबाट आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।