४ आश्विन २०८१, शुक्रबार 1726875557
पालिका

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

बिर्तामोड — झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार देवेन्द्रप्रसाद चम्लागाई निर्वाचित भएका हुन् । उपाध्यक्षमा एमालेकी उम्मेदवार शान्तादेवी सिवाकोटी निर्वाचित भएकी छन् ।गाउँपालिका अध्यक्षमा निर्वाचित चम्लागाईले ७ हजार १ सय ४८ तथा सिवाकोटीले ६ हजार ६ सय ३६ मत पाएका छन् । अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ र राप्रपाका रामकुमार सिंह राजवंशीले ४ हजार ६८ मत पाए । खड्ग बाह्रदशीका निवर्तमान अध्यक्ष हुन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षका प्रत्याशी थिए ।

उपाध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कमला राजवंशीले ४ हजार १ सय ९५ र गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शंकरप्रसाद सेढाईंले २ हजार ७ सय ५७ मत पाए ।

७ वटा वडा रहेको बाह्रदशीमा ४ वटामा कांग्रेस, एक-एक वटामा एमाले र राप्रपा तथा एउटामा कांग्रेसका बागी उम्मेदवारको प्यालन विजयी भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा बाह्रदशीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जितेको थियो ।