काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी लिएपछि पार्टी नेताले त्यसलाई पूरा गर्नुपर्ने बताएका छन् ।
प्रत्येक सदस्यले लिएको जिम्मेवारी पूरा गर्न सके मात्रै पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिने अध्यक्ष नेपालको भनाइ थियो ।
‘कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा गरिएको छ कि छैन ? सोहीअनुसार काम गरिएको छ कि छैन भन्ने कुराको अनुगमन पनि हुनुपर्छ,’ उनले भने, ‘प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघि लैजान सकिन्छ ।’
सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।


