काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको चुमनुब्री गाँउपालिकाको वडा नम्बर ५ र ६ पर्ने उक्त आयोजना स्यारखोलाको पानी उपयोग गरी नदी प्रवाहमा आधारित (आरओआर) निर्माण गर्ने भएको हो ।

आयोजनाको मुख्य भौतिक संरचनाहरू स्यारखोलाको दायाँ किनारमा रहने छन् । योजनाका लागि आवश्यक पानी लैजान १५.५ मिटर लामो ८.५ मिटर अग्लो बाँध निर्माण गरिने छ । विद्युत्गृहमा १५ मेगावाट क्षताका ३ वटा उत्पादन युनिट हरने छन् । आयोजनाबाट वार्षिक सरदर २५३.१ गिगावाट घण्टा विद्युत ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचनाहरू स्यारखोलाको दाँया किनारमा रहनेछन् ।
आयोजनाबाट उत्पादित विद्युत्लाई २२० केभी सिङ्गल सर्किट विद्युत् प्रसारण लाइन मार्फत बुढीगण्डकी प्रोक जलविद्युत् आयोजनाको स्वीचिङ्ग स्टेसनमा जोडिने छ । त्यसपछि, बूढीगण्डकी प्रोक, बूढीगण्डकी प्रोक–१ र चुमचेत स्यारखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली ७० किलोमिटर लामो एकीकृत २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन मार्फत लापाङ्ग बिहारथोक सबस्टेसनमा जोडिने जानकारी दिएको छ ।


