काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आइतबारदेखि सत्याग्रह थाल्ने भएका छन् ।
सरकारले निजी मेडिकल कलेजहरूको सिटसंख्या वृद्धि गरेको, प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डामा उपकुलपति नियुक्ति गरेको र चिकित्सा शिक्षाको मूल्य बढाउने तयारीसमेत गरिरहेको भन्दै केसीले सत्याग्रह घोषणा गरेका हुन् ।
यसअघि नै सत्याग्रहको तयारी गरेको केसीले स्वास्थ्यमा समस्या आएपछि मिति सारेका थिए । आइतबार दिउँसोदेखि उनले काठमाडौंमा सत्याग्रह थाल्नेछन् । निजी मेडिकल कलेजको सिटसंख्या बढाउनु सबैभन्दा घातक रहेको केसीको बुझाइ छ ।
‘यो सरकारले शिक्षा र स्वास्थ्यमा राजनीतिक भागबन्डा गरेको छ, निजी माफियाहरूलाई पोस्ने काम गरिरहेको छ, यो असह्य छ, यसको विरुद्ध अब सत्याग्रह थाल्छु,’ उनले भने, ‘स्वास्थ्य भन्ने विषयमा सरकारको लापरबाही देख्दा लज्जा भयो, स्वास्थ्य क्षेत्र तहसनहस हुने गरी सरकारले काम गरिरहेको छ, यसको विरुद्ध हो मेरो सत्याग्रह ।’
सरकारले सरकारी मेडिकल शिक्षण संस्थानको कोटा यथावत् राख्दै २९ साउनमा निजी कलेजहरूमा एमबिबिएस र बिडिएसका लागि ठुलो मात्रामा सिट वृद्धि गरेको थियो । निजी कलेज सञ्चालकहरूको स्वार्थअनुसार प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष पहलमा कोटा बढाइएको थियो । निजीतर्फ विभिन्न तहका एक हजार ३५९ सिट थपिएका थिए ।


