काठमाडौं। नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समिति अध्यक्ष पद पूर्तिका लागि औपचारिक प्रक्रिया सुरु भएको छ। सरकारद्वारा गठन गरिएको सिफारिस समितिले शनिबार सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट अध्यक्ष छनोट गर्न दरखास्त आह्वान गरेको हो।
मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र बीमा विज्ञ डा. खोमराज खरेल रहेका छन्।
प्राधिकरणको अध्यक्ष खुला प्रतिस्पर्धाबाट चयन हुनेछ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य रूपमा आवेदन दिन सक्नेछन्।
अध्यक्ष पदका लागि न्यूनतम योग्यता तोकिएको छ। बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षभन्दा बढी उच्च व्यवस्थापकीय अनुभव हासिल गरेका नेपाली नागरिक मात्र उम्मेदवार हुन सक्नेछन्। साथै, उम्मेदवारले भ्रष्टाचार नगरेको, आपराधिक गतिविधिमा संलग्न नभएको र कुनै सरकारी वा सार्वजनिक संस्थासँगको लेनदेनमा कालोसूचीमा नपरेको हुनुपर्नेछ।
यसअघि तत्कालीन अध्यक्ष शरद ओझालाई गत साउनमा पदमुक्त गरिएको थियो। त्यसयता प्राधिकरणको अध्यक्ष पद रिक्त रहँदै आएको हो। अब समितिबाट सिफारिस भएका नाम सरकार समक्ष पेश भएपछि नयाँ अध्यक्षको औपचारिक नियुक्ति हुनेछ।


