१२ श्रावण २०८३, मंगलबार 1785228279
समाचार

पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ।

बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनका अनुसार बोहराको होटलमा शङ्का लागि चेकजाँच गर्दा चरेश फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो। त्यसैगरी जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । आवश्यक कारबाहीको लागि उनीहरूलाई यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।