एजेन्सी । यमनको हुथी विद्रोही नियन्त्रित सरकारका प्रधानमन्त्री अहमद गालिब अल–रहावी इजरायलको हवाई आक्रमणमा मारिएका छन् । आक्रमणमा ऊर्जा, परराष्ट्र, युवा तथा खेलकुद, सामाजिक मामिला, श्रम मन्त्री र सूचना मन्त्रीसहित अन्य अधिकारी पनि मारिएको हुथी सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मसातलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हुथी सुप्रिम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मसातले घटनाबारे पुष्टि गरेको रोयटर्सले जनाएको छ । इजरायली आक्रमणमा पहिलोपटक हुथीका वरिष्ठ अधिकारीहरू मारिएका हुन् । बिहीबार सानामा भएको आक्रमणमा केही घाइते भएको भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
इजरायलले आक्रमण इरान समर्थित हुथी समूहका सेनाप्रमुख, रक्षा मन्त्री र अन्य वरिष्ठ अधिकारीहरूलाई लक्षित गरी गरिएको जनाएको छ । तर रक्षा मन्त्री मारिएको हो वा होइन भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।


