काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच औपचारिक भेटवार्ता भएको छ। शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिनमा रहेका प्रधानमन्त्री र पुटिनबीच गए राति भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, व्यापार–लगानी र अन्तर्राष्ट्रिय मामिलामा सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यसअघि प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले एससिओ प्लस शिखर सम्मेलनमा नेपालको सहभागिता जनाए। सम्मेलनमा उनले सम्बोधन पनि गरेका छन् ।

थियानजिनपछि अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै ओलीले भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापान विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागिता जनाउने कार्यक्रम छ।

सो कार्यक्रममा ५० भन्दा बढी देशले सहभागिता जनाउनेछन्।


