१७ असार २०८३, बुधबार 1782944626
Banner

प्रधानमन्त्री आज बेइजिङ जाँदै, चीनका उपराष्ट्रपतिसँग भेट र ८०औँ विजय समारोहमा सहभागी हुने 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ जाँदै हुनुहुन्छ। चीनको थियानजिन सहरमा सम्पन्न ‘साङ्घाइ सहयोग संगठन (एससिओ) प्लस’ शिखर सम्मेलन सकिए लगत्तै उहाँ बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको हो।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। त्यस अवसरमा दुई देशबीच पारस्परिक हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। उपराष्ट्रपति चङ्गले आयोजना गर्ने रात्रि भोजमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।

भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले भाेलि बुधबार बेइजिङमा आयोजना हुने विशेष समारोहमा सहभागिता जनाउनेछ। सो समारोह चीनले फासिवाद विरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्ध मा प्राप्त विजयको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको हो।

सोही दिन अर्थात् बुधबार नै प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।