काठमाडौं । पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले सबै कमिटी भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका हुन् । बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्डको निर्णय अनुमोदन गर्ने बताइएको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्ने समेत तयारी गरेका छन् । केन्द्रीय कमिटीको बैठकले नै महाधिवेशनको मिति तय गर्ने उनले बताए । प्रचण्डले पार्टीभित्र उठेका सबै बहसको छिनोफानो विशेष महाधिवेशन ले नै गर्ने बताएका थिए ।
आगामी मंसिरमा विशेष महाधिवेशन गर्नेगरी तयारी भइरहेको माओवादी स्रोतले जनायो । प्रचण्डलाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेर कमिटी भंग गर्न लागिएको हो । माओवादीले सशस्त्र संघर्ष शुरू गरेदेखि प्रचण्ड अनवरत रूपमा नेतृत्वमा छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मालगायतले प्रचण्डलाई नेतृत्व छाड्न दबाब दिइरहेका छन् ।
जेनजी आन्दोलनका कारण पुराना नेतामाथि दबाब परिरहेको बेला माओवादीले विशेष महाधिवेशनमा जाने निर्णय गरेको हो ।


