काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय भनाइ छ । ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ ।
सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । माताको स्वरूप गोरो वर्णको छ भने यीनका सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार महागौरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभास भएको थियो, त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेवलाई स्वामी पाउने विश्वाससहित कठोर तपस्या प्रारम्भ गरेकी थिइन् ।
बाल्यकालमा पार्वती हुँदादेखि नै शिवलाई पति पाउन कठोर तपस्या गरेकी महागौरीको प्रतिज्ञा थियो( ‘महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छ’ यस कठोर तपस्याका कारण उनको शरीर अत्यन्त कालो भएको थियो । यिनको तपस्याले प्रसन्न भएका शिवजीले गंगाजलमा नुहाइदिएपछि उनी गोरी बनिन् र त्यसै कारण उनको नाम गौरी रहन गयो । यी देवीको शक्ति अमोघ र प्रत्यक्ष फल दिने मानिन्छ । यस भगवतीको आराधनाले भक्तजनहरूको सबै दोष नाश हुने तथा भविष्यमा पनि बाधा नआउने विश्वास गरिन्छ । मोक्ष प्राप्तिको चाहना गर्नेहरूले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी उच्च योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिन्छ । उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नजस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नालाभगवती र पलान्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरूमा पनि बलिसहित पूजा तथा आराधना गरिन्छ । पशुबलि नचढाउनेहरूले भने पूजा कोठामा आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदिलाई बलि चढाई पूजाआजा गर्ने गर्छन् । यस दिन आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने परम्परा छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।


