२७ भदौ २०८३, शनिबार 1789202913
Banner

एक महिना नपुग्दै फ्रान्सका नयाँ प्रधानमन्त्रीले दिए राजीनामा

पेरिस । फ्रान्समा राजनीतिक संकट कम हुने कुनै संकेत देखिएको छैन। सोमबार राष्ट्रपति इमानुएल म्याक्रोँले नवनियुक्त प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन्। नयाँ मन्त्रिपरिषद्को घोषणा भएको केही घण्टामै आएको यो राजीनामाले फ्रान्सलाई राजनीतिक गतिरोधको दलदलमा झनै फसाएको छ।

गत महिना म्याक्रोँले लेकोर्नुलाई प्रधानमन्त्री पदको लागि मनोनित गरेका थिए। आइतबार अबेर राति मन्त्रीपरिषद्का सदस्यहरूको घोषणा गरिएको थियो, तर नयाँ मन्त्रिपरिषद्मा अधिकांश मन्त्रीहरू पहिलाकै थिए। लेकोर्नुले पूर्व अर्थमन्त्री ब्रुनो ल मेहर्ला रक्षा मन्त्री नियुक्त गरेपछि राजनीतिक वृत्तमा आलोचना भएको थियो। केही घन्टामै लेकोर्नुले राजीनामा दिएका हुन्।

यो बीचमा म्याक्रोँले आफ्नो स्थिति बलियो बनाउन गत वर्ष मध्यमा तत्काल संसदीय चुनाव घोषणा गरेका थिए। तर विधानसभामा उनको गुट अल्पमतमा परेपछि फ्रान्स राजनीतिक गतिरोधमा फसेको छ। समाचार एजेन्सी एएफपीका अनुसार, गत हप्ताको आधिकारिक तथ्याङ्कले फ्रान्सको सार्वजनिक ऋण रेकर्ड उच्चतममा पुगेको देखाएको छ। फ्रान्सको ऋण–जीडीपी अनुपात ग्रीस र इटालीपछि युरोपेली संघमा तेस्रो उच्च बनेको छ। यो अनुपात ईयूको ६० प्रतिशत सीमा भन्दा लगभग दोब्बर रहेको छ।