२६ भदौ २०८३, शुक्रबार 1789187148
Banner

निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरेको छ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचनका लागि कार्यतालिका बमोजिम प्रशासनिक तयारीका साथै सम्बन्धित सरोकारवालासँग छलफलको क्रम निरन्तर अघि बढ्ने उनले बताए।

प्रवक्ता भट्टराईले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशील रहेको उल्लेख गरे। विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा आयोगको रहेको उनको भनाइ छ।

त्यस्तै आम नागरिकहरूले पनि उत्साहपूर्ण रूपमा निर्वाचनमा सहभागिता जनाउने आयोगको विश्वास रहेको प्रवक्ता भट्टराईले बताए। भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनका साथै प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको थियो।