१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:50 am
समाचार

सुदन गुरुङले भने ‘अब चाहिँ अति भयो’

सूचना प्रेस २०८२ आश्विन २६ आइतबार ००:००, ०५:५६ बजे २ मिनेट पढाइ

काठमडाैँ । हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले सामाजिक सञ्जालमा फैलाइएका झुटा समाचारप्रति कडा प्रतिक्रिया जनाउँदै साइबर सेनाको ट्रेन्ड र गलत आरोपहरू अब सह्य नहुने चेतावनी दिएका छन्।

गुरुङले शनिबार सामाजिक सञ्जालमा आफू र आफ्नो समूहलाई लक्षित गरी फैलाइएका झुटा समाचारप्रति असन्तुष्टि जनाएका हुन्। उनले एक भिडियो सन्देश जारी गर्दै भने, ‘अब चाहिँ अति भयो। हामीलाई ‘फ्रि तिब्त’सँग जोडेर झुटा समाचार फैलाइएको छ, मानिसहरू पत्याइरहनु भएको छ। कति ठाउँमा लड्ने भ्रष्टाचारविरुद्ध, झुटा समाचारविरुद्ध कि आफ्नै समूह मिलाउन ? ’

गुरुङका अनुसार, उनीहरूलाई लगाइएका सबै आरोप निराधार छन्। उनले चुनौती दिँदै भने, ‘जसले आरोप लगाएका छन्, उनीहरूले प्रमाण देखाउनुपर्छ म कहाँ छु भनेर मैले बोलाएको हो भन्ने। हामी पढेलेखेका हौँ, सत्य र झुटो छुट्याउन सक्छौँ।’

उनले बारबरा फाउन्डेसन सम्बन्धी आरोप अस्वीकार गर्दै भने, ‘हामी भाेली नै हरेक कुराको सार्वजनिक गर्छाैँ, प्रत्येक रुपैयाँको हिसाब सार्वजनिक हुन्छ। हाम्रो संस्था कुनै एनजीओ होइन र १ डलर पनि कुनै एनजिओबाट लिएका छैनौँ।’ गुरुङले वेबसाइट निर्माणको तयारी भइरहेको जानकारी दिँदै थपे, ‘हामी बिल सहितको वेबसाइट बनाउँदैछौं। नगद पैसा लिँदैनौँ, नगद सहयोग पनि स्विकार्दैनौँ। झुटा समाचारको पछि नलाग्नुस्।’

उनले चेतावनी दिँदै भने, ‘अब यस्ता झुटा समाचार फैलाउनेलाई कारबाही गर्नुपर्छ। यदि हामी गलत ठहरियौँ भने हामीमाथि कारबाही होस्, नत्र झुटा प्रचार गर्नेहरूमाथि होस्।’

गुरुङका अनुसार, जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरूबारे पनि प्रमाणसहित उजुरी दर्ता गर्ने तयारी भइरहेको छ। उनले भने, ‘हामीसँग प्रमाण छन्, भोलीदेखि उजुरी हाल्दैछौं।’

गुरुङ गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्ये एक हुन्।