१० श्रावण २०८३, आइतबार 1785069176
Banner

नेपाली विद्यार्थी विपिन जोशीको शव हस्तान्तरण

काठमाडौं । हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।

बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ। हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो।

हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो। हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ।

सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुगेका थिए।

यसअघि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताएका थिए। २०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए। हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए। सँगै रहेका घाइते साथीलाई जोगाउन लागेका विपिनलाई भने हमासले बन्दी बनाएर लगेको भिडियो फुटेजमा देखिएको थियो। विपिन बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा थिए।