हिमालको काखमा बसेको कर्णालीको सौन्दर्यले धेरैको मन मोहित पार्छ, तर, त्यही भूमिमा कहिल्यै नटुट्ने अभाव र पीडाको इतिहास लुकेको छ । चाँदीझैँ हिउँले ढाकिएका डाँडाहरूभित्र कर्णालीवासीले लामो समय गाँस, बास र कपासका लागि संघर्ष गरे (कतै कहिले पनि छ)। शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता आधारभूत सेवाबाट वञ्चित रहे । कहिल्यै समयमै नपुग्ने औषधि, सडकसँगै हराएको शिक्षा र अवसरहरू कर्णालीवासीका जीवनका स्थायी अध्याय बने ।
लामो कालखण्ड (मूलत: राजतन्त्र काल)मा कर्णाली नेपालकै सबैभन्दा पछाडि परेको भूभाग रह्यो । यहाँका बासिन्दा राज्यको नीतिभन्दा प्रकृतिको रहममा बढी निर्भर रहन बाध्य भए । बर्खामा पहिरोले बाटो काट्थ्यो, जाडोमा हिमपातले गाउँ बन्द गर्थ्यो र गर्मीमा रोगले जनजीवन तहसनहस पार्थ्यो । स्वास्थ्य, शिक्षा, यातायात र सञ्चारजस्ता आधारभूत पूर्वाधारको नाममा कर्णालीले केवल आश्वासन पायो, परिणाम भने विरलै देख्यो।
तर, यही कठिनाइको भूमरीभित्र पनि आशा मरेको थिएन । पहाडका सिमानामा बस्ने मानिसहरूमा परिवर्तनको आस्था बाँकी थियो— कहिल्यै नथाक्ने संघर्ष र धैर्यका कारण । अहिले कर्णाली विकासको नयाँ बाटोमा उभिएको छ, तर त्यसअघि यहाँको जनजीवनमा कसरी राज्यको बेवास्ता र समयको कठोरता मिसिएको थियो भन्ने कथा आज पनि स्मृतिमा ताजा छ । आउनोस्, कर्णालीको कठोर संघर्ष नियालौं ।
कर्णाली नेपालको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित छ । हालको कर्णाली प्रदेशमा साबिक कर्णाली अञ्चलका खास पाँच जिल्लाहरू- हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट माथिल्लो कर्णाली क्षेत्रमा पर्दछन् । जहाँ प्रायः अग्ला हिमाली भूभागहरू ६ महिनासम्म चाँदी झैँ हिउँको घुम्टोले ढपक्क ढाकिन्छन् । वन-जङ्गलहरूमा जीवनबुटी यार्सागुम्बा, गुच्छी च्याउलगायत बहुमूल्य जडिबुटीहरूको मगमगाउँदो सुगन्ध आइरहन्छ । नौरङ्गी डाँफे मुनालहरूको सुन्दर नाच, कस्तुरी मृग, घोरल, झारलहरूको परेड, अझै वनपाखामा ढकमक्क फुल्ने लालीगुराँसलगायत अनेकौँ रङ्गीबिरङ्गी फूलहरू र बारीमा फल्ने स्याउ, आरु, ओखरलगायतका फलहरू, विश्वको उच्च स्थान जुम्लाको जिउँलोमा लहलह झुल्ने मार्सी धानको दृश्य प्राकृतिक रूपले अत्यन्तै रमणीय र सुन्दर क्षेत्र हो। यसको काखमा धर्तीकी अप्सरा रारा, सिरानमा शे-फोक्सुन्डो ताल, ऐतिहासिक सिंजा सभ्यता, भाषा र संस्कृतिले सुसज्जित छ। प्राकृतिक र भौगोलिक रूपले जति सुन्दर, सुसम्पन्न र मनमोहक भए पनि आर्थिक रूप र राज्यबाट उपलब्ध हुने सेवा-सुविधाको पहुँचले दुर्गम र पिछडिएकाहरूको बस्तीको रूपमा कृत्रिम इतिहास बनाइएको छ।
कर्णालीलाई शासकहरूले अभाव, रोग, भोक, पीडा, वेदनाको खानीको पर्यायवाचीको रूपमा परिचित गराए। सिंजा राज्यले नेपाल अधिराज्यमा एकीकरण हुनुपूर्व गौरवमय इतिहास र प्रभाव कायम गरेको भए पनि राजतन्त्रकालीन शासकहरूको दृष्टिमा कर्णालीवासीले दोस्रो दर्जाको नागरिकको रूपमा बाँच्नु पर्यो। हेपाइ र पीडाहरू खेप्नु पर्यो। स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, रोजगारको कमीले मर्दै बाँच्नु पर्यो। जिउन कठिन र मर्न सहज परिस्थितिमा शताब्दीयौँ वर्षहरू र पुस्तौँदेखि अभाव र पीडाहरू झेल्दै बाँच्नको लागि सङ्घर्ष गर्नु पर्यो।
गाँस,बास र कपासको लागि सङ्घर्ष
मानिसलाई बाँच्न नभई नहुने पहिलो आवश्यकता गाँस हो। चरा-चुरुङ्गीहरूको चिरबिरभन्दा निकै अगाडि, आकाशका ताराहरू पातलिँदै गएको आँकलनपश्चात् केही बेरमै उज्यालो हुने अनुमानका साथ प्रत्येक दिन सबै मौसममा सिङ्गो कर्णाली कामको लागि घरबाट निस्कनु पर्थ्यो। समय हेर्ने घडी सबैको पहुँचमा हुँदैनथ्यो। अनुमान र अन्दाजकै भरमा आकाशका चन्द्र, सूर्य र ताराहरूको स्थिति तथा ऋतुअनुसार डाँडाकाँडाहरूको छायाँको आधारमा तुलनात्मक रूपमा सूर्य अस्ताउने र उदाउने समयको अन्दाज ‘घडी, पला’को नामले गरिन्थ्यो। बिहानको झिसमिसेदेखि झमक्क रात नपर्दासम्म उत्पादनको लागि सङ्घर्ष गर्नुपर्थ्यो। परम्परागत कृषि प्रणाली, श्रम र मिहिनेत बढी तर उब्जनी कम हुन्थ्यो। साहू र सामन्तहरूको लागि मात्र अतिआवश्यक चिजबीज आयात गर्ने साधनहरू खच्चर, भेडा, घोडा, चौँरीगाई हुन्थे। जसमा सारिएका वस्तुहरूसम्म सर्वसाधारणको पहुँच हुँदैनथ्यो।
स्थानीय उत्पादनले बजार नपाउँदा अतिआवश्यक वस्तु र सेवामा सर्वसाधारणको क्रय शक्ति नै नहुने र वस्तु-विनिमयको उपाय पनि हुँदैनथ्यो। सिर्फ भोटबाट आएको एक भाग सेतो ढिके नुन कम्तीमा दोब्बर, तेब्बर मार्सी चामलसँग बाध्यात्मक रूपमा साटिन्थ्यो। आयोडिनको कमीले गलगाँड र सुस्त मनस्थितिका मान्छेहरू गाउँपिच्छे नै भेटिन्थे। दिनहुँ सोह्रदेखि अठार घण्टासम्म निरन्तर प्रकृतिसँग हात-पाखुरा लडाउनु पर्थ्यो। भारी बोक्नु पर्थ्यो। अधिकांश मानिसहरूको थाप्लोदेखि निधारसम्म नाम्लोको गहिरो छाप स्पष्ट देखिन्थ्यो। त्यसमा पनि पुरुषको तुलनामा महिलाहरूले अति नै दुःखकष्ट गर्नुपर्थ्यो।
राति बाहिरभित्र आवतजावत गर्न राँको सल्काएर हिँड्नुपर्थ्यो पर्थ्यो। यही नै कर्णालीको बिजुली बत्ती थियो। गाउँ-बस्ती सारा अँध्यारा थिए । धिपधिपे आगोको आधारमा डाँडामाथि र खोलापारी गाउँबस्ती भएको सङ्केत देखिन्थ्यो।
बालकदेखि वृद्धसम्म सबैले अनिवार्य रूपमा आफ्नो क्षमताअनुसारको काम गर्नै पर्थ्यो। उकाली-ओराली धाउनु पर्थ्यो, खोला-नाला तर्नु पर्थ्यो, घामपानी र हिमपातमा ताडिनु पर्थ्यो। सिर्फ बल्लतल्ल एक छाक रूखो-निल्को गाँस जुटाउन कठिन शारीरिक सङ्घर्ष गर्नुपर्थ्यो। अनेकौँ सन्तापको कारण कर्णालीले कलिलै उमेरमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो।
बासको लागि ढुङ्गा, माटो र काठबाट निर्मित पुरानो शैलीका परम्परागत घरहरू, त्यसमा पनि दर्जनौँ घरहरू टाँसिएर बनेका हुन्थे। घरभित्रको खुला चुलोमा ओदानको मुनि दाउरा बालेर खाना पकाउने र न्यानोको लागि आगो ताप्ने गरिन्थ्यो। संयोगवश एउटा घरमा आगलागी हुँदा सबै घरहरू जलेर नष्ट हुने स्थिति पनि हुनसक्थ्यो। मानिस र चौपाया एउटै घरमा बस्थे। स्वास्थ्य र सुरक्षाको दृष्टिले घरहरू बढी जोखिम हुन्थे। राति बाहिरभित्र आवतजावत गर्न राँको सल्काएर सल्लाको दियालो (झरो/झिरझिर) गरेर बाल्नु पर्थ्यो। यही नै कर्णालीको बिजुली बत्ती थियो। गाउँ-बस्ती सारा अँध्यारा हुन्थे। धिपधिपे आगोको आधारमा डाँडामाथि र खोलापारी गाउँबस्ती भएको सङ्केत देखिन्थ्यो।
पुस र माघ महिनामा हिमपात हुने र तापक्रम माइनसमा हुने कर्णालीको प्राकृतिक र भौगोलिक विशेषता हो। खानेकुरा त जसोतसो खेतबारीमा उत्पादन गर्न सकिन्थ्यो भने कपडा उत्पादनको विकल्प कर्णालीमा फेरि त्यस बेला कहाँ हुन्थ्यो र! टालो फाट्दा टाल्नुको अर्को विकल्प हुँदैनथ्यो। लुगाफाटोको जोहो गर्नु पनि ठूलो चुनौती थियो। हिउँदको दुई महिना सिङ्गो कर्णाली दक्षिण झर्नु पर्थ्यो। परिवारलाई एकसरो कपडा जुटाउनको लागि जोखिम मोल्नु पर्थ्यो। हिमालबाट झन्डै दुई हप्ता दिनको पैदलमार्ग हुँदै हाट जानुपर्थ्यो। भारे डोकामा निश्चित दिनसम्म पुग्ने सामल-तुमल, फापर र चामलका ढ्यास्सु, चिउरा, भटमास (खाजा) तथा समूहमा पुग्ने गरी पकाएर खाने भाँडाकुँडा र ओढ्ने-ओछ्याउने लत्ताकपडा बोकेर लैजानुपर्थ्यो। भारतका गल्ली-गल्ली नेपाली छोरा कोही गर्थे चौकीदारी कोही बोक्थे बोरा। अलि टाठा-बाठा व्यापार गर्थे। परदेशको ठाउँमा हेपाइ सहनुपर्थ्यो। लुटिनु, कुटिनु, चुटिनु पर्थ्यो। हरेक समस्याहरू पार गर्दै केही रकम जम्मा गर्नुपर्थ्यो। हाटबजार- हालको क्रमशः बर्दिया र बाँके (राजापुर, नेपालगञ्ज) लगायत भारत-नेपाल सीमाबाट भारी बोक्दै पुरै ज्यान दाउमा राखेर फेरि उकालो लाग्नु पर्थ्यो। बाटो लामो, कठिन यात्रा, लेक काट्नु पर्ने, गाड (खोला) नाघ्नु पर्ने; केही मानिसहरू जीउँदै घर पुग्न पाउँदैनथे। बिचराको परिवारलाई नौला कपडा दिने सपना पूरा हुन पाउँदैनथ्यो। नयाँ कपडा लगाएको दिनमा आफ्नो अनुहार र पूरा फोटो हेर्न पाउने प्रविधि थिएन। नवीन वस्त्र पहिरनले म कस्तो देखिएँ भनेर आ-आफ्ना साथी-भाइहरूसँग आपसमा सोधासोध चल्थ्यो।
विशेष गरेर बैँसालु युवती र किशोर-किशोरीहरूमा बढी उमङ्ग हुन्थ्यो। बुढा-बुढीहरू पनि चम्किएका हुन्थे। नयाँ कपडा पाएकोमा र पुर्याएकोमा परिवारका सदस्यहरूबीच खुसियाली छाउथ्यो र बेग्लै आनन्दको अनुभूति सबैमा हुन्थ्यो। जसको घरमा जवान पुरुष हुँदैनथे, विशेष गरेर एकल महिला र बुढा-बुढी भएको परिवारमा च्यात्तिएको ठाउँमा टालोमाथि टालो टाली लाज ढाक्ने र आङ ढाक्ने काम हुन्थ्यो। नयाँ कपडा पाएकाहरूले पनि वर्ष दिन एकसरो कपडाले नै गुजारा गर्नुपर्थ्यो। जिउभन्दा प्यारो कपडा हुन्थ्यो। होसियारीका साथ ख्याल गरेर बचाउनु पर्थ्यो। कुनै कारणवश सिउनभन्दा बेगर च्यात्तिएमा टालो अनिवार्य हुन्थ्यो। त्यो टालो एक किसिमले कर्णालीको पहिचान नै थियो।
शिक्षा र स्वास्थ्य
विसं २००७ सालमा प्रजातन्त्र आउँदा नेपालको साक्षरता २ प्रतिशत मात्र थियो। जसको अर्थ प्रत्येक १०० जनामा २ जना मात्र पढ्न-लेख्न सक्ने थिए भने बाँकी ९८ जना अक्षर नै चिन्न नसक्ने निरक्षर थिए। कर्णालीको साक्षरता लगभग शून्य नै थियोभन्दा हुन्छ। महिला साक्षरता त कर्णालीमा कल्पनाभन्दा बाहिरको विषय थियो।
२००७ भन्दा अगाडि कर्णालीमा राज्यको तर्फबाट कुनै पनि स्कुल खुलेका थिएनन्। जनता शिक्षित भए भने निरङ्कुश राणा शासन र राजशाहीको विरोध गर्छन् भन्ने नीतिले विद्यालय खोल्न रोक लगाइएको थियो। पुस्तकालय खोलेबापत जरिवाना तिर्नु पर्थ्यो र जेल जानुपर्थ्यो। औपचारिक शिक्षाको ढोका बन्द गराइएको थियो। तत्कालीन राज्यसत्ताको प्रत्यक्ष प्रभाव कर्णालीमा बढी नै परेको थियो। जसको असर हालसम्म पनि कर्णालीमा देखिएको छ।
कर्णाली सामाजिक, आर्थिक र राजनीतिक रूपले पिछडियो। टाढा-टाढा गएर अनौपचारिक ‘ऋषिकुल’, ‘पितृकुल’ शिक्षा लिएका सीमित थान सामन्त मुखियाहरूका सन्तानहरू जो सत्ताको निकट थिए, उनीहरू तमसुक र भरपाईसम्म साङ्केतिक रूपमा लेख्न सक्थे। अङ्कको पछाडि शून्य थपेर ठग्ने गर्थे। आमा, बुवा र गुरुलाई देवता समान मान्ने, इष्टमित्र, कुलकुटुम्बलाई सम्मान गर्ने, मिलेर बस्ने, बाँडेर खाने जस्ता असल संस्कार र परम्परा हुँदाहुँदै पनि औपचारिक शिक्षाबिना पूरा देश र त्यसमाथि सिङ्गो कर्णाली अँध्यारो थियो।
स्वास्थ्य संरचना र पूर्वाधारको अवस्था असाध्यै जर्जर थियो। केही जिल्लाका सदरमुकाममा विसं २०१९ पछि प्राथमिक उपचारसम्म हुनसक्थ्यो तर सबै गाउँ-बस्तीहरू स्वास्थ्य चौकीको पहुँचमा थिएनन्। राम्रो अस्पताल र दक्ष डाक्टर कर्णालीले कहिल्यै देख्न पाएको इतिहास छैन। आपत्कालीन विशेषज्ञ स्वास्थ्य सेवाको सुलभ पहुँच वर्तमान युगसम्म पनि नहुँदा कर्णालीवासीले मृत्यु स्वीकार्नु बाहेक अर्को कुनै विकल्प छैन भने त्यतिखेर झन् दयनीय र कहालीलाग्दो अवस्था थियो। मानिसहरू धामी-झाँक्री कहाँ जान्थे। जडिबुटी, झारफुक, तन्त्रमन्त्रमा विश्वास गर्थे, भगवान्मा भरोसा राख्थे। सन्चो भइहाल्यो भने देवी-देवता दाहिना भएको, आशीर्वाद प्राप्त भएको मानिन्थ्यो र सन्चो नभएमा त्यसको भाग्यमा मृत्यु नै लेखिएको, आयु छोटो नै ल्याएर जन्मिएको, देवता रिसाएको र अभागी भएको मानिने सामाजिक चेतना थियो।
यदि कसैमा कुष्ठरोग देखिएमा पूर्वजन्मको पाप र श्राप ठानिन्थ्यो। त्यस्ता मानिसहरूलाई घरबाट अलग्गै गोठ बनाएर मानिसको सम्पर्क नहुने एकान्त ठाउँमा सारिन्थ्यो। मृत्यु हुँदा पुत्तेपासो लगाएर घिसारेर खाल्डोमा पुरिन्थ्यो। कुष्ठरोगले दुःखद अन्त्य भएका मानिसका सन्तानलाई बाउ-बाजेको रोग र शारीरिक अवस्थाका आधारमा पुस्तौँसम्म सराप्ने कथित प्रथा र परम्परा थियो। सामान्य रोगहरू (झाडापखाला, क्षयरोग, दम, कुपोषण आदि) ले ज्यान गुमाउनु पर्थ्यो। महिलाहरू घरमै सुत्केरी हुन्थे, मर्ने-बाँच्ने सम्भावना ५०/५० प्रतिशत हुन्थ्यो। मातृ-शिशु मृत्युदर उच्च थियो। राज्य नै बेखबर हुन्थ्यो। राज्यसत्ताको भूमिका शून्य नै हुन्थ्यो।
यातायात र सञ्चार
जब मङ्सिर महिना लाग्दथ्यो, तब पूरा कर्णाली दक्षिण दिशामा कुम्लो-कुटुरोसँगै उद्गम बिन्दुदेखि अन्त्यसम्म नदीको बेगसँगै बग्नु पर्ने बाध्यता थियो। फेरि फागुन-चैत महिनामा आकाशमा मालचरीको लाइन पङ्क्तिको रूपमा उत्तर तिब्बतको मानसरोवरतिर उड्दै गर्दा जमिनमा नदीको फेरासँगै फेरि अन्त्यदेखि सुरुसम्म (घाँगरादेखि मानसरोवरसम्म) पिठ्युँमा भारी, थाप्लोमा नाम्लो उकाली-ओराली गर्दै हिँड्ने मानिसहरूको लहर देखिन्थ्यो। लामो लाइन, गरूङ्गो भारीसँगै प्रत्येक दिनको झिसमिसेदेखि अँधेरी रातसम्म कमिलाको ताँती झैँ चेन बनाएर हिँड्ने हुनाले मानिसहरूलाई नै ‘चेन गाडी’ भनिन्थ्यो।
कर्णाली प्राकृतिक सुन्दरताको अनुपम खजाना हो, तर यही सुन्दरतामुनि लुकेको छ दशकौँसम्मको अभाव, रोग र राज्यको बेवास्ताको पीडा । च्यात्तिएको ठाउँमा टालोमाथि टालो टाली लाज र आङ ढाकिन्थ्यो । त्यो टालो एक किसिमले कर्णालीको पहिचान नै थियो ।
त्यसताका पैदलमार्ग प्रमुख थियो। साँघुरो गोरेटो बाटोमात्र हुन्थ्यो। हिमपात र वर्षातमा ढोल-पहिरोले कयौँको ज्यान पनि जान्थ्यो। न त्यहाँ राज्य हुन्थ्यो न कुनै तहको सरकार नै हुन्थ्यो। त्यसरी मरेको परिवारले एकसरो कपडा र एक रुपैयाँ दामसम्म क्षतिपूर्ति कसैबाट पाउँदैनथ्यो। मरेको लासको पनि उचित सद्गति हुँदैनथ्यो। जहाँ जसरी मर्यो, त्यही ठाउँमा स्याल र गिद्धले खान्थे।
बाटो कसैले बनाउँदैनथ्यो। पहिलो मान्छेले जुन पाइलो जहाँ टेक्यो, त्यहीमाथि छाप हेरी अर्कोले टेक्थ्यो। यसरी धेरै मानिसहरूको पाइला-पाइलाको हिँडाइले गोरेटो बाटो आफैँ निर्माण हुन्थ्यो। यातायातका अन्य साधनहरूमा घोडा, खच्चड, भेडा-बाख्रा मात्र हुन्थे। चौँडा बाटो, कालोपत्रे सडक, बस, ट्रक आदि यातायातका साधनहरू ‘देस’ (भारत) मा मात्र देखिन्थे।
कर्णालीको भूमिमा देखिने सपना र कल्पना मात्र हुन्थे। विसं २०१५ सालतिर जुम्ला जिल्लामा एयरपोर्ट बनेको र कर्णालीका अरू जिल्लाहरूमा निकै समयको अन्तरालपश्चात् मात्र हवाइजहाजले उडान भरेको इतिहास छ। ती जहाजका सीमित उडानहरू सीमित थान साहू-सामन्तको लागि मात्र हुन्थे। आम मानिसले गरूङ्गो भारी बोकेको समयमा भारी भुइँमा फाली खुला आकाश हुँदै क्षितिजमा हराउने जहाजतिर हेर्दै चढ्न पाए कस्तो हुन्थ्यो भन्ने कल्पना गर्न र दिवासपना देख्न पाउने मात्र स्वतन्त्रता थियो। नागरिकको हैसियत थिएन, रैतीको ट्याग लागेको थियो।
त्यो ‘चिलगाडी’मा राजा-रानी र उनीहरूका मन्त्री मात्र चढ्छन् भन्ने आम मानिसको बुझाइ थियो। कर्णालीमा यातायात र सडक सञ्जाल एकादेशको कथा जस्तै थियो। सूचना तथा सञ्चार रैबारमा सीमित थियो। घरबाट मङ्सिरमा मुग्लान गएको मान्छे चैत १२ गते मार्सी धानको बीउ राख्न उपस्थित भएन भने स्वतः मृत्यु भएको ठहर गरी काजकिरिया गर्ने सामाजिक नियम जुम्लामा थियो।
जनता शिक्षित हुँदा निरङ्कुश शासन टिक्दैन भनेर विद्यालय खोल्न रोक लगाउने राणाहरूले विसं १९५८ सालमा आफ्ना गतिविधि आफैँ हेर्न र पढ्न गोरखापत्र प्रकाशन गरेका थिए। पूरा देश निरक्षर र यातायात शून्य भएको बेला त्यो पत्रिका पाउन सक्ने र पढ्न सक्ने हैसियत कर्णालीको कसैसँग पनि थिएन। रेडियो नेपालको स्थापना विसं २००७ साल चैत २० गते सिंहदरबारमा भएको थियो। काठमाडौँ वरपरका क्षेत्रहरूमा बाहेक देशभर सेवा क्षेत्र विस्तार नहुँदा दूरदराज कर्णालीका गाउँ-बस्तीमा रेडियोको सिग्नल २०४० पछि नै पुगेको थियो। आम नागरिकमा रेडियो सेट राख्न सक्ने आर्थिक अवस्था थिएन। गाउँका गन्यमान्यहरूको हातमा मात्र रेडियो सेट हुन्थ्यो। उनीहरूले भनेका कुराहरूलाई समाचार मान्नु पर्थ्यो।
हुलाक विभागको स्थापना विसं १९३५ मा भए पनि कर्णालीको पहुँचमा २०३० सालपछि भयो। चिठीमा टिकट टाँसेर सूचना आदानप्रदान गरिन्थ्यो। नेपाल टेलिभिजनको स्थापना २०४१ साल सिंहदरबार काठमाडौँमा नै भएको थियो भने कर्णालीमा स्याटलाइट (डिस) मार्फत विसं २०५५ सालपछि मात्र उपलब्ध हुनसक्ने भयो। रुपियाँ हुनेले टिभी सेट राख्थे। अहिलेका आमा समूह र सहकारीका बैठक तथा टोल र वडाका पार्टी कार्यकर्ताको उपस्थिति भए झैँ मानिसहरू टेलि-शृङ्खला र शनिबार फिल्म हेर्न टेलिभिजन भएको घरमा भेला हुन्थे।
नेपालमा विसं २००५ सालमा सुरुभएको टेलिफोन सेवा र २०५६ सालमा सञ्चालनमा आएको मोबाइल सेवा कर्णालीमा २०६० को दशकमा जनताको पहुँचमा पुग्न सक्यो। सूचना तथा सञ्चार प्रविधिको उन्नत विकास र विश्व नै एउटा ‘ग्लोबल भिलेज’ जस्तै भएको वर्तमान युगमा अझै पनि कर्णालीका कुनाकन्धराका गाउँ-बस्तीहरूमा सहज सञ्चारको पहुँच छैन भने राजतन्त्रकालीन युगमा राज्यसँग कर्णालीको सम्बन्ध पूर्ण रूपमा विच्छेद थियो। एकआपसमा प्रत्यक्ष सञ्चारको परिकल्पना थिएन।
निष्कर्ष
कर्णाली भौगोलिक रूपमा सुन्दर र प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि जडिबुटी, विद्युत, पर्यटन, कृषि, व्यापार, उद्योग आदि क्षेत्र- जसले आम जनताको जीवनस्तर रूपान्तरण गर्न सक्ने निकै सम्भावना- हुँदाहुँदै पनि शासकहरूको उपेक्षा, नीति र पूर्वाधारको कमीले कर्णालीका जनताको जीवनलाई अभाव, पीडा र असुरक्षाको अन्तहीन सङ्घर्षमा परिणत गरेको थियो। मानवीय आधारभूत आवश्यकताहरू (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार) पूर्ति गर्न हरेक व्यक्तिले अपार मिहिनेत र जोखिम मोल्नु पर्थ्यो। कठिन परिस्थितिमा पनि कर्णालीवासीले केवल बाँच्न र जीवनको मूल्यका लागि सङ्घर्ष गरिरहनु पर्थ्यो । अशिक्षा, अभाव, रोग, भोक सहनुपर्यो। थुप्रै पीडा र वेदनाका घुम्तीहरू काट्नु पर्यो। कयौँ चुनौतीका पहाडहरू छिचोल्नु पर्यो। सहनशीलता, आत्मसम्मान र दिगो प्रयासले भविष्यका पुस्ताका लागि आधार तयार गर्नुपर्यो। इतिहासका दृष्टिले ती वर्षहरू केवल कहाली लाग्दा, अभाव र कठिनाइको समय मात्र नभई मानव धैर्य, सामाजिक एकता, अस्तित्व, आत्मनिर्भरताको बलशाली हतियार साबित हुनपुगे। जसबाट कर्णालीवासीमाथिको उत्पीडन, क्रूर यातना, अपमान, दमन, शोषण र हेपाइ सधैँ अन्त्य भयो। जहानियाँ शासन इतिहासको पानामा सीमित भयो।
संक्षेपमा, राजतन्त्रकालीन कर्णालीको इतिहासले देखाउँछ कि भौगोलिक सुन्दरता र प्राकृतिक स्रोतले मात्र विकास र समृद्धि सुनिश्चित गर्दैन। सशक्त राज्य नीति, पहुँचयोग्य सेवा र सामाजिक न्यायको अभावमा मानिसहरू जीवनका मौलिक अधिकारको लागि लगातार सङ्घर्ष गर्न बाध्य हुन्छन्। आखिर उत्पीडन र हेपाइका पीडाले प्रत्येक नागरिकमा अदम्य साहस, आँट, शक्ति र ऊर्जा पैदा गरिदिने रहेछ। फलस्वरूप जनतामा स्वस्फूर्त त्याग र बलिदानीको भावना जागृत हुँदोरहेछ। जनजागरणको आन्दोलन र विद्रोहको अगाडि जस्तासुकै शासन, सत्ता र व्यवस्था ढल्दारहेछन्। फासीवादी, स्वेच्छाचारी र निरङ्कुश शासकहरूको दुःखद अन्त्य निश्चित हुँदोरहेछ। कर्णालीवासीहरूले पनि सङ्घर्षलाई धैर्यता र सम्मानका साथ सामना गरेका थिए।
साभार लोकान्तर


