१२ श्रावण २०८३, मंगलबार 1785277923
Banner

तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै

काठमाडौँ ।आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ।

वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ।

कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ। त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ। यो पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावरबिचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।