काठमाडौं, २ कात्तिक । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुकासम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्नेसम्मको चेतावनी दिएको छ । बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना जारी गरेको थियो ।
तर, प्राधिकरणले फेरि १३ असोजमा अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो । सोही सूचना अनुसार उद्योगीहरुले बक्यौता तिर्ने समय आज सकिन लागेको हो । यद्यपी, हाल सम्म ९ वटा उद्योगले मात्र किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हालसम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ । यी उद्योगबाट कुल ३ करोड २२ लाख रुपैयाँ बक्यौताबापतको रकम उठेको उनले बताए । केही उद्योगीहरुले किस्ता बुझाए पनि केही उद्योगीहरुले भने समस्या समाधान गरिदिन भन्दै शुक्रबार प्रधानमन्त्री सुशीला र्काीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।


