१२ श्रावण २०८३, मंगलबार 1785273045
Banner

राज्यलाई कमजोर पार्ने गतिविधि अस्वीकार्य छन् : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने गतिविधि अस्वीकार्य हुने बताएका छन्। नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटीको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन–जेड आन्दोलनका क्रममा भएको घुसपैठ र अराजकताले राज्यलाई कमजोर पार्ने प्रयास भएको उल्लेख गरे।

उनका अनुसार मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तालाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य छन्। उनले सचेत नागरिकका रूपमा हरेक व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दै देशलाई अशान्तिको भूमरीमा जानबाट जोगाउन खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री आचार्यले एमाले चुनावको पक्षमा रहेको तर सरकारले चुनावी वातावरण बनाउन नसकेको टिप्पणी पनि गरे। मालारानी गाउँपालिका कमिटीका अध्यक्ष बलराम भुसालको अध्यक्षता र एमाले केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको सहजीकरण सचिव देवीराम पोख्रेलले गरेका थिए।