काठमाडौं । त्रिदेशीय फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ ।

शुक्रबार भारतको सिलोङस्थित जवारलाल नेहरू रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेले पनि दोस्रो हाफको सुरुवाती १२ मिनेटमै नेपालले तीन गोल खाएको हो ।
खेलको ४९औँ मिनेटमा इरानकी साराले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । उनले गोलकिपरले फालेको लङ बलमा नेपाली डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बिट गरेर गोल गरेकी थिइन् ।
त्यसको तीन मिनेटमै अर्थात् ५२औँ मिनेटमा इरानले दोस्रो गोल गर्यो । इरानकी कप्तान जेहरा गाबारीले डिबक्स बाहिरबाट पाएको फ्रिकिकलाई दोस्रो बारमा सुन्दर गोलमा परिणत गरिन् ।
त्यस्तै, खेलको ५७ औँ मिनेटमा इरानकी जर्सी नम्बर ८ की सबनामले टोलीका लागि तेस्रो गोल गरिन् ।
अब नेपालले आफ्नो दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० गते खेल्नेछ ।


