१० श्रावण २०८३, आइतबार 1785107444
Banner

प्रधानमन्त्रीसँग गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखले गरे छलफल

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ।  शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूले छलफल गरेका हुन् ।

बैठकमा वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्ने विषयमा पनि छलफल भएको छ । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।  बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि  छलफल भएको छ ।

बैठकपछि गृहमन्त्री अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’

अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढङ्गले प्रस्तुत भइदिन पनि उनले सबैलाई आग्रह गरेका छन् । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्रीअर्याल, गृहसचिव दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी रहेका थिए ।  बैठक करिब २ घण्टा चलेको थियो।