काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि भएको कुटपिटमा संलग्न भएको भन्दै दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग साँखुका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
त्यस्तै, प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई कात्तिक ८ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ दक्षिण ढोकाबाट पक्राउ गरिएको हो ।


