७ जेष्ठ २०८३, बिहिबार 1779398867
Banner

नेपाली कांग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमीकमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन् ।

कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने समेत बताए । चालु केन्द्रीय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने कार्यवाहक सभापति खड्काको दाबी थियो ।

उनले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढ्न पार्टीका युवाहरूलाई आह्वान समेत गरे । कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिका उल्लेखनीय रहेको समेत बताए ।