जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको घाटमा आज साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गरे ।

साथै उनले निर्वाचनको विकल्प नभएको बताउँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रूपमा गरिने प्रतिबद्धता जनाए । उनले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्दै यसले सबै वर्ग तथा समुदायबिच आपसी सद्भाव कायम गरेको बताए । ‘यसको दिनप्रतिदिन गरिमा र महत्त्व बढ्दै गएको छ’, उनले भने ।


