काठमाडौं-नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ। आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो।

देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे। त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।
ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ।
यसैगरी एमालेले ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशभर एकसथा प्रतिनिधि चयन गर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयाे। ‘प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबारका दिन देशैभरी एकसाथ हुनेछ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयाे, ‘त्यसरी चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ।’
एमालेले महाधिवेशनका लागि ६ लाख ६७ हजार ६३० पार्टी सदस्य मध्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताएको छ। प्रतिनिधि चयन गर्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मान्ने समेत उपमहासचिव ज्ञवालीले उल्लेख गर्नुभयाे।


