४ भदौ २०८३, बिहिबार 1787280446
Banner

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ। 

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन्। सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो। महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन्।

आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन्। 

संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ। त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ।