काठमाडौं । नेकपा एमालेले आज एकैसाथ देशभर वडास्तरीय जनभेला सम्पन्न गरेको छ ।
पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकका निर्णय र केन्द्रीय सचिवालय बैठकको योजना बमोजिम देशका ७५३ स्थानीय तहका सबै वडा कमिटीले जनभेला सम्पन्न गरेका हुन् ।

यसै अन्र्तगत नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नम्बर २ को बालकोट वडाकमिटीले पनि भव्य रुपमा वडा भेला सम्पन्न गरेको छ । भेलाका प्रमुख अतिथि नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले नेकपा एमालेले राम्रो कार्य गरेकै कारण चौतर्फी आक्रमण ब्योहोर्नु परेको बताउनुभयो । एमालेको लोकप्रियता र पार्टी अध्यक्ष ओली स्पष्ट अडान र राष्ट्रिय स्वाधिनतामा अडिक भएकै कारण एमालेलाई षडयन्त्र गरिएको उहाँको भनाइ थियो ।

२३ र २४ गतेको विध्वंशकारी गतिविधिले एमालेका नेता कार्यकर्ताको सम्पति माथि आक्रमण गरिएपनि एमालेको जगमा भने कुनै समस्या नभएको उहाँले बताउनुभयो । तर यस्तो अमानविय घटनाबाट पाठ सिकेर पार्टीलाई अगाडि बढाउने कार्यमा थप सक्रिय भएर लाग्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला कमिटि सचिवालय सदस्य सरिता तिम्सिना भटटराईले पार्टी अध्यक्ष ओलीको उर्जालाई शक्तिका रुपमा लिएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । अहिले एक अर्कालाई आरोप प्रत्यारोप गर्नेभन्दा पनि पार्टीलाई जुरुक्क उठाएर हिडनुपर्ने दायित्व भएको उहाँको भनाइ थियो । नेपालको राजनीतिमा भएको प्रतिक्रान्ति र संसदको असंवैधानिक विघटनविरुद्ध जनतालाई सचेत गराउन पहिलो चरणमा वडास्तरीय जनभेला आयोजना गरिएको एमालेले जनाएको छ ।

महाधिवेशनको तयारीमा जुटेको एमालेले कात्तिक २६ गते पालिकास्तरीय भेला आयोजना गरेको छ भने त्यसपछि जिल्लास्तरीय जनसभा र मंसीर ६ गते काठमाडौंमा वृहत प्रदर्शनको तयारी छ ।
वडास्तरीप्य जनभेलाका लागि केन्द्रदेखि जिल्लास्तरका नेता कार्यकर्ता र जनप्रनिधिहरु आफ्नो कार्यक्षेत्रमा खटिएको एमालेले जनाएको छ।

६ लाखभन्दा बढी संगठित सदस्य र शुभेच्छुक जनतासहित देशभर एकैसाथ ६ हजार ७ भन्दा बढी वडामा १० लाखभन्दा माथिको जनसहभागिता रहने एमालेको दावी छ ।


