काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि मिति २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन अपिल गरेको छ। आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर तोकिएको मिति २०८२र११र२० गतेसम्म १८ वर्ष उमेर पूरा नहुने नागरिकहरूले निर्वाचन सम्पन्न भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६–६ घण्टाका दरले दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
यस व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।
अन्य जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाई छ।


