काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिको विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले शान्ति सुरक्षा र सुशासनको पक्षमा जस्तो सुकै जटिल परिस्थितिको सामना गरेर पनि जनप्रतिनिधिले काम गर्नै पर्ने बताएका हुन् ।
‘अरूले के गर्छन् त्यो अलग कुरा भयो, तर हामीले स्वच्छ ढङ्गले काम गर्नुपर्छ, जनतालाई छिटो, छरितो र बिना भेदभाव सेवा सुविधा दिनु पर्छ’, उनले भने ।
उनले अहिलेको सरकार हा हु कै सरकार भएको दोहोर्याए । विगतमा मुखिया छान्दा पनि गाउँले बसेर छान्ने गरेका बताउँदै उनले अहिले मुखिया मुखिनी कहाँबाट आए भन्ने समेत थाहा नभएको ओलीले बताएका छन् । ‘अहिले केही क्षणलाई मुसाले बिरालो तर्साए जस्तो भएको छ, एमालेलाई ५०र६० जनाले तर्साउन खोज्दै छन्, आगो त निर्बाध छाडिदिए पछि ५०र६० जनाले सिंहदरबार नै जलाए नि’, उनले भने ।
अहिलेको सकार कसले बनायो भन्ने थाहा नभएको उनको भनाइ छ । यो सरकारको टेक्ने र झुण्डिने ठाउँ नभएको उनले सुनाए । ‘तै पनि जनताले अत्यधिक बहुमतले छाने जस्तो धाकधम्की छ’, उनले भने ।


