काठमाडौं, ७ मंसिर । नेपाल प्रहरीले २६२ वटा सवारीसाधान खरिद गर्ने भएको छ । नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गाडी खरिद गर्ने प्रक्रिया अगाडी बढिसकेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
१५६ वटा सवारी साधनको लागि ३५ करोड ११ लाख र थप गरिएका १०६ वटा सवारी साधन खरिदको लागि ४५ करोड ३० लाख थप स्रोत अर्थमन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ । यस आर्थिक वर्षमा नेपाल प्रहरीले ८० करोड ४१ लाख रुपियाँका विभिन्न सवारी साधन खरिद गर्ने प्रक्रिया अगाडी बढेको हो ।
नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ वटा सवारीसाधानमा ७५ वटा पिक अप भ्यान, थुनुवा ओसारपसार गर्ने सवारी साधन एउटा, २८ वटा कार्यालय प्रयोजनका लागि छन् । ४१ वटा कार्यालय प्रयोजनकै लागि विद्युतीय सवारी र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका खरिद गरिने भएको हो ।
यस्तै गृह मन्त्रालयका लागि ५९ वटा सवारी साधन खरिदका लागि अर्थबाट स्रोत अनुमति प्राप्त भइसकेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । जसमध्ये ३ वटा विपद् उद्धारका लागि खरिद गरिनेछ । ५० वटा बोलेरो पिकअप भ्यान, तीन वटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स खरिद गरिनेछ ।
यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपैयाँ खर्च हुनेछ भने थप ५० वटा यो आर्थिक वर्षभित्र खरिद गर्ने गरी ५ करोड ६ लाख बजेट पनि सशस्त्र प्रहरीलाई उपलब्ध गराउने भएको छ । यता राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा गाडी खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्रोत अनुमति प्राप्त भएको छ ।
तीनै सुरक्षा निकायका लागि चुनावअगाडि नै सवारी साधन खरिद भइसक्ने गृह मन्त्रालयले दाबी छ । जेनजी आन्दोलनमा नेपाल प्रहरीका ५७१ वटा र सशस्त्र प्रहरीका ६१ वटा सवारी साधनहरूमा क्षति पुगेको थियो ।
राष्ट्रिय अनुसन्धान विभागका ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको जेनजी प्रदर्शनमा ध्वस्त भएका मध्ये ४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा आएका छन् । प्रहरीका ४६५ वटा कार्यालयहरूमा क्षति पुगेको थियो । क्षति भएका १६ वटा कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सशस्त्र प्रहरी बल, नेपालका ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो। राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका दुई वटा भवन तथा तीन वटा जिल्लास्थित कार्यालयका भवनमा पनि क्षति पुगेको थियो ।


