नेपाल प्रिमियर लिगको जारी दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णाली याक्ससँग भएको खेलमा सुदूरपश्चिम ४५ रनले विजयी भएको हो । कर्णालीले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १९.२ ओभरमा पूरा गर्यो । कर्णाली केवल ९४ रन बनाएर अलआउट भयो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए।

कर्णालीका लागि मार्क वाटले १७, सोमपाल कामीले १४ र गुल्सन झाले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले चार विकेट लिए । त्यस्तै, हरमित सिंहले दुई, स्कट कुग्लेजिन, हेमन्त धामी र अविनास बोहराले एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान ऐरीले ३९ रनको योगदान गरे । छैटौं नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए । सातौं नम्बरका ब्याट्सम्यान हरमित सिंहले पनि टोलीका लागि १९ रनको योगदान गरे । हरमितले १६ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । दीपेन्द्र र हरमितले ४८ रनको साझेदारी गरे ।
आरिफ शेखले पनि टोलीको खातामा २७ रन थपे । उनले २५ बलमा तीन चौका हिर्काए । क्रिस लिन भने २० बलमा दुई चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका थिए ।
सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै ओपनर जोस ब्राउनलाई गुमाएको थियो । अर्का ओपनर विनोद भण्डारी पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । नरेश साउद खाता खोल्नुअघि नै पेभेलियन फर्किए । स्कट कुग्गेलेइजनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए ।
हेमन्त धामी एक र अविनाष बोहरा एक रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा पनि ११ रन पायो । कर्णाली याक्सका बलर सोमपाल कामीले तीन विकेट लिए । कप्तानसमेत रहेका सोमपालले चार ओभरमा एक मेडन राख्दै ३२ रन खर्चिए । नन्दन यादवले दुई विकेट हात पारे । मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले पनि एक/एक विकेट लिए ।


