विराटनगर । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटमा इतर पक्षबाट उम्मेदवारी दिएपछि संस्थापन पक्षका कार्यकर्ताले एमाले जिल्ला सदस्य अनिल राजधामीमाथि आक्रमण भएको छ ।
राजधामी पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव समेत हुन् । एमाले धरानका कार्यालय नजिकै हिँजो बेलुका युवा संघ कोशी इन्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । राजधामीले अहिले आफू उपचार गराइरहेको बताए पनि अन्य विषयमा बोल्न उनी चाहेनन् । आफूमाथि कुटपिट गरेर अनुहारमै गम्भीर चोट लागेको उनले बताए ।
राजधामी र दिवस दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । स्रोतका अनुसार राजधामीलाई उम्मेदवारी फिर्ता लिने कागजमा सही गराएका छन् । यद्यपि आफ्नो उम्मेदवारी भने कायमै रहेको उनले बताए । ‘ज्यान नै तलमाथि हुनसक्ने भएपछि दबाबमा हस्ताक्षर गरेको हुँ,’ उनले भने- ‘मेरो उम्मेदवारी कायमै छ ।’


