काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा अनुबन्ध हुने ठूलो नाममध्येका एक हुन् दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस । उनलाई विराटनगर किंग्सले अनुबन्ध गरेको हो । विराटनगरले हालम्म ५ खेल खेलिसक्यो । तर, डु प्लेसिस विराटनगरको खेलमा उपस्थित भएका छैनन् ।
डु प्लेसिसले इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सिजनको अक्सनमा सहभागी नहुने निर्णय गरेसँगै एनपीएल खेल्न पनि नआउने हो कि भन्ने आशंका समर्थकमाझ परेको छ ।
डु प्लेसिसले अबुधाबी टी–१० लिग खेलिरहेका छन् । लिगमा उनी सम्मेलित टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । विराटनगरका म्यानेजर विजय धितालका अनुसार डु प्लेसिस विराटनगरको आगामी खेलमा उपस्थित हुनेछन् ।
एनपीएल खेल्न उनी सोमबार नेपाल आउने धितालले बताए । विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । सम्भवतः उक्त खेलमा डु प्लेसिसले खेल्नेछन् ।
योसँगै घाइते भएका मार्टिन गप्टिलमा पनि आगामी खेलमा उपस्थित हुनेछ । सुरुआति ३ खेल खेलेका मार्टिन घाइते हुँदा त्यसपछिका दुई खेल गुमाएका थिए । मार्टिनको रेष्ट पुगेको र आगामी खेलमा सहभागी हुने विराटनगरका म्यानेजर धितालले जानकारी दिए । विराटनगर किंग्स ५ खेलबाट ८ अंक जोड्दै प्लेअफ नजिक छ ।
आइपीएल छाेडेर पीएसएल राेजे डु प्लेसीसले
डु प्लेसिसले इन्स्टाग्राममार्फत आइपीएलको आगामी सिजनको अक्सनमा आफ्नो नाम नराख्ने निर्णय गरेको बताएका छन् । उनले पाकिस्तान सुपर लिग (पिएसएल) को आगामी सिजन खेल्न लागेको उल्लेख गरेका छन् । ‘मैले नयाँ चुनौती लिन रोजेको छु र पिएसएलको आगामी सिजनमा खेल्नेछु । यो मेरो लागि एउटा रोमाञ्चक कदम हो, नयाँ कुरा अनुभव गर्ने, खेलाडीको रूपमा यसलाई बढाउने र अविश्वसनीय प्रतिभा र ऊर्जाले भरिएको लिगलाई अँगाल्ने मौका,’ उनले लेखेका छन् ।


