काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैले भूमिका खेल्नु पर्ने बताएका छन् ।
सिन्धुलीको दुधौली नगरपालिकामा आयोजित मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले अझै पनि नेपालको स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरे । तीनवटै तहका सरकारले कार्यक्रम बनाउँदा र नागरिकले योजना माग गर्दा समेत भौतिक पुर्वााधरमा जोड दिने तर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्ने अनुभव उनले सुनाए । ‘हामी बाटो, पुल, सिँचाइ लगायत अनेक संरचनामामा बजेट छुट्याउँछौँ तर स्वास्थ्यलाई छुट्याउँदैनौँ’, उनले भने । एउटा नागरिक स्वास्थ्य हुँदा सिङ्गो समाज स्वास्थ्य हुन्छ भन्ने कुरामा ध्यान जान नसकेको उनको भनाई छ ।
‘हामीले नागरिकको स्वास्थ्यमा खेलबाड गरिरहेका छौँ, स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउँदा मात्र हामीलाई स्वास्थ्य नागरिक बनाउन सक्छौँ’, उनले भने । उनले अस्पतालहरू राज्य र नागरिकका प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका ५ वटा आधारभूत अस्पताललाई प्रदेशस्तरका अस्पताल बनाउनु पर्छ भनेर आफू लागिरहेको उनले बताए । तर अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा आफ्ना योजना सफल हुन नसकेका थापाले जानकारी दिए ।
सिन्धुलीको दुधौली, रामेछापको मन्थली लगायतका अस्पतालहरूमा बिरामीको अत्यधिक चाप भएकोले ती अस्पताललाई प्रदेशस्तरका अस्पताल बताउन अति आवश्यक रहेको उनले बताए । यसको लागि आफूले पहल गरिरहेको थापाले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य विभाग टेकु र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अक्सिजनका कन्सटेटर, बेड, ह्विलचियर लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।


