काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ ।
बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईको अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन् । सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने उनले बताए । ‘सन्देश सभामा ५० हजार मानिस आउने हाम्रो अपेक्षा छ । जुलुसको नेतृत्व दोस्रो तहले गर्नुहुन्छ । सुनधारा, नयाँ सडक चेक र शान्ति बाटिकामा मानिस भेला हुनेछन् । त्यसपछि बागबजार, पुतली सडक, पद्मदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ’, उनले भने ।
शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने भट्टराईले बताए । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ ।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए ।
पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको थियो ।


