काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अन्तरिम सरकार अहिले अचानो जस्तो बनेको टिप्पणी गरिन् । राजनीतिक दल र जेनजीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको उनकाे भनाइ छ । उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन् ।
आफूहरु अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको भन्दै उनले भनिन्, ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरुलाई एउटा, तिमीहरुको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्यौ भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौँ ।’
उनले थप भनिन्, ‘त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरुमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरु हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहीँ नहोस् ।’ प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताइन् ।


