१ जेष्ठ २०८३, शुक्रबार 1778882259
Banner

सिन्धुलीको कमलामाई नगरमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू आदेश जारी गरेको छ।

कमलामाई नगरपालिका–४ अन्तर्गत पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोक सम्मको क्षेत्रभित्र आज साँझ ८ः३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिएको हो। पुस ६ गते कमलामाई नगरपालिका–४ को धुरा बजारमा भएको घटनापछि स्थिति झन् चर्किँदै गएपछि स्थानीयवासीबाट ढुङ्गामुढा प्रहार, हुलदङ्गा तथा अवाञ्छित गतिविधि बढेको प्रशासनको निष्कर्ष छ। यसले जिल्लाको शान्ति–सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको भन्दै कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक सर्वसाधारण तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै, कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन तथा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने स्पष्ट निर्देशन प्रशासनले दिएको छ।