काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । शुक्रबार बिहान देउवालाई भेट्न मन्त्री खरेल महाराजगञ्जस्थित उनकै निवास पुगेका हुन् ।
भेटका क्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री खरेलले आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ । मन्त्री खरेलले ओलीलाई उनकै निजी निवास गुण्डुमा ११ बजे र प्रचण्डलाई पनि उनकै निजी निवास खुमलटारमा मध्यान्ह १२ बजे भेट्नेछन् ।


