राँझा (बाँके), १३ पुस । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसान्तसम्म नेपालगञ्जबाट रु २५ करोडभन्दा बढीको जडीबुटी निर्यात भएको छ ।
सूचना अधिकारी खड्काका अनुसार उक्त अवधिमा रु २५ करोड २६ हजार बराबरको विभिन्न प्रकारका आठ लाख ४१ हजार ३३८ केजी जडीबुटी निर्यात भएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा रु १० करोडभन्दा बढी हो । गत आवको सोही अवधिमा रु १४ करोड ६२ लाख ७९ हजारको जडीबुटी निर्यात भएको थियो । नेपालगञ्ज नाकाबाट विशेष गरी टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी, अमलालगायत जडीबुटी निर्यात हुने गरेको छ ।
नेपालगञ्जबाट ८५ प्रतिशत जडीबुटी भारत निकासी हुने गरेको नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले बताउनुभयो । पछिल्लो केही वर्षमा जडीबुटी निर्यात पुनःबढेको उहाँको भनाइ छ । उहाँका अनुसार, हिमाली जिल्लामा जडीबुटी सङ्कलन इजाजत र छुट पुर्जी लिन सदरमुकाम जानुपर्ने झन्झट छ । साना व्यवसायीले जडीबुटी ओसारपसार गर्न नसक्ने अवस्था छ । पहिचान भइसकेका जडीबुटी प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नहुँदा विदेश निर्यातमा समस्या हुने गरेको उहाँको भनाइ छ ।


