उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधानतर्फ ठोस कदम चालेको छ । नगरपालिकाले उनीहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको नापजाँच सम्पन्न गरी श्रेस्ता तयार गर्ने, नक्सा निर्माण गर्ने तथा तीन पुस्ते विवरण संकलनको प्रक्रिया पूरा गरेर भोगाधिकार दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको हो ।
नगरपालिकाले मंगलबार वडा नम्बर ६ का ७६ जना भुमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई भोगाधिकार दर्ता प्रमाण पुर्जा वितरण गरेको हो । १० वटा वडा रहेको नगरले आफ्ना पालिकाभित्र झन्डै १० हजार भुमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ । जसमध्ये नगरले ३ हजार ७ सय ९ परिवारलाई पुर्जा वितरण गर्ने तयारीसँगै मंगलबार वडा नम्बर ६ का ७६ जनालाई पुर्जा वितरण गरेको हो ।
यससँगै नगरले वडा नम्बर २ का १९६, वडा नम्बर ३ का ५३६, वडा ४ का ५३१, वडा नम्बर ५ का १९६ वडा नम्बर ७००, वडा नम्बर ८ का ७२, वडा नम्बर ९ का ४२४ र वडा नम्बर १० का ९७८ जनाको लागि पुर्जा निरन्तर वितरण गर्ने नगरले तयारी गरेको छ । नगरपालिकाका अनुसार भूमि समस्या समाधानका लागि नगरको टिम र प्राविधिक टोलीको सक्रियतामा सम्बन्धित जग्गाको फिल्ड नापजाँच, सीमांकन तथा कागजी प्रक्रिया सम्पन्न गरिएको छ । यसक्रममा स्थानीय सरोकारवाला, वडास्तरीय समिति तथा लाभग्राहीहरूसँग निरन्तर समन्वय गर्दै तथ्यांक संकलन गरिएको चौदण्डीगढी नगरपालिका भूमि शाखाका प्रमुख यज्ञराज श्रेष्ठले बताए ।
चौदण्डीगढी नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ६ बाट भोगाधिकार दर्ता प्रमाण पुर्जा वितरणको सुरुवात गरेको हो । वडामा रहेका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्राथमिकतामा राखी पुर्जा वितरण गरिएको नगरप्रमुख कालुमान लामाले जानकारी दिए । वडा नम्बर ६ को सफल कार्यान्वयनसँगै चरणबद्ध रूपमा नगरका अन्य वडामा समेत भोगाधिकार प्रमाण पुर्जा वितरण गरिने समेत नगरप्रमुख लामाले बताए ।
नगरपालिकाले पुर्जा वितरणपछि लाभग्राहीहरूले आफ्नो बसोबास र खेतीपाती गर्दै आएको जग्गामा कानुनी मान्यता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले बैंकिङ्ग प्रणाली वा सरकारी काममा प्रयोग गर्न नसक्ने भएपनि यस भोगाधिकार पुर्जा प्राप्त गरेसँगै आफूहरुको जागाको सिमांकन र उपभोग गरेको जग्गाको वास्तविक क्षेत्रफल पहिचान भएको मनकुमारी श्रेष्ठले बताइन् । पुर्जा प्राप्त गरेसँगै उनीहरुले आफूलाई स्थायित्व र सुरक्षा मिल्ने बाटो निर्माण भएको महशुस गरेका छन् । स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो कदमलाई ऐतिहासिक र सराहनीय भन्दै खुशी समेत व्यक्त गरेका छन् ।
“लामो समयदेखि भोग्दै आएको जग्गामा कानुनी अधिकार नहुँदा सधैं डर र अन्योलमा बस्नुपरेको थियो,” वडा नम्बर ६ का एक स्थानीयले भने, “अब भोगाधिकार दर्ता प्रमाण पुर्जा पाएपछि भविष्य सुरक्षित हुने आशा जागेको छ ।” चौदण्डीगढी नगरपालिकाले भूमि समस्या समाधानलाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाउँदै आएको र यो अभियानले सामाजिक न्याय र समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ । नगरले आगामी दिनमा पनि भूमिहीन तथा कमजोर वर्गका नागरिकको जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


