काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–४ मा पुकार बम उम्मेदवार बनेका छन् । यससँगै रास्वपाले काठमाडौंका सबै १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।

पुकार बमले यसअघिको निर्वाचनमा काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंह पहिलो र रवीन्द्र मिश्र दोस्रो हुँदा बम तेस्रो स्थानमा रहेका थिए । यसपटक पनि उनको आकांक्षा काठमाडौं–१ मै थियो । तर पार्टीले त्यहाँ रञ्जु दर्शनालाई उम्मेदवार बनाएपछि बम काठमाडौं–४ बाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।
काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । तर यसपटक थापाले काठमाडौं–४ छोडेर सर्लाहीबाट उम्मेदवारी दिने निर्णय गरेका छन् ।


