सुर्खेत । नेकपा एमालेका सचिव यामलाल कँडेलले पार्टीका केन्द्रदेखि टोलसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रित हुन निर्देशन दिएका छन् ।
आज प्रतिनिधि सभा क्षेत्र नं. १ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिव कँडेलले अबको चुनावी अभियानको शैली परिवर्तन गर्नुपर्ने बताए । उनले भीडभाड र ठूलो सभा भन्दा पनि मतदाता नामावली रहेको स्थानमा केन्द्रित भई योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
कँडेलले प्राप्त मतकै आधारमा नेतृत्वको मूल्यांकन हुने भएकाले प्रत्येक कार्यकर्ता आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्ने बताए । उनले पार्टी संगठन बलियो बनाउन कमिटी प्रणालीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै व्याक्ति भन्दा कमिटीको भूमिकालाई अझ प्रभावकारी बनाउन पर्ने उल्लेख गरे ।
यो चुनाव कुनै एक उम्मेदवारको मात्र नभई पार्टी, विचार र सिद्धान्तको चुनाव भएकाले सबै कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको उनको भनाई थियोे । उनले जनताको घरदैलोमा पुगेर पार्टीको नीति, विचार र कार्यक्रम स्पष्ट रूपमा राख्न निर्देशन दिए ।
सचिव कँडेलले उम्मेदवार उपस्थित नभएको अवस्थामा पनि कार्यकर्ताले आफ्नो दैनिक गतिविधि वडामै केन्द्रित गर्नुपर्ने बताए । “यो दलिय चुनाव हो, समाजसेवाको भावना लिएर जनतामाझ जानुपर्छ,” उनले भने । पालिका, वडा र टोल नछाड्ने, मतदान केन्द्रमै बसेर मतदाता भेटघाट, संवाद र संगठन विस्तार गर्न उनले जोड दिए ।
उनले सबै मिलेर अघि बढे विजय निश्चित हुने विश्वास व्यक्त गर्दै संगठन सुदृढीकरण नै जितको मुख्य आधार भएको बताए । कमिटी प्रणालीबाट पार्टी सञ्चालन गर्नुपर्नेमा पुनः जोड दिँदै उनले अनुशासन, एकता र सक्रियताबाट मात्र लक्ष्य प्राप्ति सम्भव हुने धारणा राखे । भेलामा सहभागी कार्यकर्तालाई उत्साहका साथ निर्वाचन अभियानमा जुट्न आह्वान गर्दै उनले संगठन बलियो भए परिणाम स्वतः अनुकूल आउने विश्वास व्यक्त गरे ।


